काठमाडौं : कोरोना (कोभिड–१९) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक केहीबेरमा बस्दै छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समिति बैठक आइतबार साँझ ५ बजे बस्न लागेको हो ।
उपप्रधानमन्त्री पोखरेलका ल प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनमा आइतबारदेखि कडाइ गरेको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एक प्रदेशदेखि अर्को, एक जिल्लादेखि अर्को जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जानसमेत कडाइ गरेको छ ।
उच्चस्तरीय समिति बैठकले कोरोना संक्रमण नियन्त्रणको विषयमा केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।
लकडाउन थप गर्ने जिम्मेवारीसमेत यही समितिले पाएको छ ।










