२०७८ जेष्ठ २४ / काठमाडौं ✍️ शिवम गुप्ता –
दिन प्रति दिन समाजिक सञ्जालका प्रयोगकर्ताहरु बढी रहेको अवस्था छ। समाजिक सञ्जालको दुरुपयोगपनि धेरै बढीरहेको कारण साइबर ब्यूरोको ध्यानाकर्षण भएको छ।
केन्द्रिय साइबर ब्यूरो काठमाडौंले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकलाई सचेत गरेको छ । ब्यूरोले सोमबार एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरेर चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले हाल निषेधाज्ञाका समयमा पनि त्यस्ता गतिविधि देखिएकाले सार्वजनिक सूचनामार्फत सचेत गराइएको जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिको तस्बिर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका सामग्री सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने ब्यूरोको विज्ञप्तिमा जनाइएको छ । साथै, त्यस्ता गतिविधि गर्नेउपर प्रचलित कानुनबमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेकोसमेत ब्यूरोले जानकारी गराएको छ ।











