नेपालगञ्ज । भारतबाट नेपालतर्फ भारी मात्रामा अबैध तस्करी गर्ने अमिर अहमद जोलाह (भौकी) लाई बाँके प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई प्रभावमा पारी दैनिकरुपमा ठुलो मात्रामा तस्करी गर्ने गराउने कार्यका नाइके भौकीलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।
तस्करीका कुख्यात मानिएका जोलाह (भौकी), मानिस बन्धक बनाइ कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । घट्ना यही बैशाख महिनाको हो । तस्करका नेता भौकीलेको गोदाममा प्रहरीले छापा मारेर ठुलो मात्राको अबैध सामान बरामद गरी नियन्त्रणमा लिएको थियो ।
स्रोतका अनुसार जोलाहको गोदाममा प्रहरीले छापा मारेर सामान नियन्त्रणमा लिएपछि प्रहरीलाई सूराकी गरेको आरोपमा भौकीले जैसपुरका मोहम्मद इरफान जोलाहलाई नियन्त्रणमा लिएर कुटपिट गरे । त्यतिले पनि उनको चित्त नबुझेपछि बाटोमा हिडिरहेका इरफानलाई बैशाख १२ गते पुनः नियन्त्रणमा लिएर सोही गोदाममा लगी बन्धक बनाएर मर्णासन्न हुने गरि कुटपिट गरे ।
तस्कर भौकीको नियन्त्रणमा रहेका इरफान भोलिफल्ट बिहान जसोतसो उक्त गोदामबाट भाग्न सफल भइ जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफुलाई बचाउन हारगुहार लगाउँछन् र प्रहरीले इरफानको जाहेरीका आधारमा भौकीलाई पक्राउ गर्छ । इरफानलाई कुटपिट गरेको आरोपमा जोलाह (भौकी)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
पक्राउ परेका जोलाह (भौकी)माथि आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी डाँगीले बताउनुभयो । उजुरी गरेकै आरोपमा जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीकै सामुन्ने पीडित इरफानमाथि ‘छोटा भौकी’ भनिने भौकीका भाई समिर अहमद जोलाहाले समेत कुटपिट गरेको आरोपमा भाई समिरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर प्रक्रिया बढाएको प्रहरीले जनाएको छ ।
राजनीतिक नेताको आडमा तस्करी गर्दै आएका भौकीले प्रहरी प्रशासन र भन्सार कर्मचारीलाई समेत प्रभावमा पार्ने गरेको बताइन्छ । प्रहरीले जैसपुरस्थित उक्त गोदामबाट ४ लाख ८६ हजार ८०० रुपैयाँ मुल्य बराबरको अबैध मालसामान नियन्त्रणमा लिएको थियो ।
बाँकेमा लामो समयदेखि तस्करी गर्दै आएका भौकीले विभिन्न पदमा रहेका व्यक्तिहरुलाई प्रभाव पारेकै कारण हालसम्म उनी पक्राउ नपरेको स्रोतको भनाई छ । यसरी आफ्नो सामानको सुराकी गर्यो भन्दैमा सर्वसाधारणलाई बन्धक बनाई कुटपिट गर्ने भौकीलाई कानून लाग्छ लाग्दैन । नेपालको कानून अनुसार कसैले पनि कसैमाथि कुनै प्रकारको अत्याचार, कुटपिट, बन्धक बनाउन जस्ता कार्य दण्डनीय अपराध मानिएको छ ।