नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

0
247

काठमाडौं : मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्ति मार्फत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्पmत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्काे समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

मन्त्रालयका प्रवक्ता देवकोटाले भने, ‘ती महिला संक्रमित परिवारको सदस्य हुन् । उनको ट्राभल हिस्ट्रि छैन । यस कारणले हामी दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ ।’

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा नाक तथा मुखबाट निस्कने छिटाको माध्यमबाट सर्ने कोरोना भाइरसको जोखिम ग्रामीण तहमा पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार, शनिबार गरिएको परीक्षणमा नयाँ तीनजना व्यक्तिमा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । सुदूरपश्चिमका तीनै जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाालामा परीक्षण गरिएको हो ।

थपिएका संक्रमितमा २१ र ४१ वर्षीया दुई पुरुष छन् । दुवै पुरुष रोजगारीका सिलसिलामा भारतमा थिए । त्यहाँबाट आएका उनीहरु स्वदेशमा क्वारेन्टाइनमा बसेका थिए ।

चीन, युरोप र खाडी मुलुकबाट फर्केका व्यक्तिमा मात्र भाइरस पोजेटिभ फेला परेको थियो । नेपालभित्रै अर्को व्यक्तिलाई पनि संक्रमित तुल्याएपछि त्रास बढेको छ । यसलाई स्थानीय संक्रमण (लोकल ट्रान्समिसन) भन्ने गरिन्छ ।

विदेशबाट आएका व्यक्तिले संक्रमण फैलन नदिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका उपाय अवलम्बन गर्नुपर्ने डा.देवकोटाको भनाइ छ ।

स्थलमार्गबाट पनि जोखिम

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिबीच परीक्षणको दायरा बढाउने विषयमा छलफल भएको चौबीस घण्टापछि नेपालमा तीनजना नयाँ संक्रमित फेला परेका हुन् ।

‘छैंटौ केसको अनुसन्धान र कन्ट्रयाक्ट ट्रेसिङ (सम्पर्कमा रहेका व्यक्तिको पहिचान) का लागि टोली खटाउने कार्य सुरु गर्दा एकैपटक तीनवटा केश देखिए ।’

छलफलमा सहभागी एक उच्च अधिकृतले भने, ‘छलफल भएको भोलिपल्टै नवौं केश सार्वजनिक गर्नुपर्ने स्थिति आयो ।’

हालसम्म फेला परेका ९ संक्रमित केशमा ६ जना तेस्रो मुलुकबाट हवाई मार्ग हुँदै स्वदेश आएका थिए । पछिल्लो दुईजना छिमेकी भारतबाट नेपाल भित्रिएका हुन् ।

कोरोना भाइरस संक्रमितको उपचार गर्दै आएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक सरुवा रोग विशेषज्ञले भने, ‘हवाई मार्गका साथसाथै स्थलमार्गबाट आउने संक्रमितका कारणले नेपालमा पनि संक्रमण बढ्ने चिन्ता भयो ।’

भारतमा संक्रमित बढिरहेकोले नेपालमा जोखिम बढेको हो । परीक्षणको दायरा विस्तार गर्दै लकडाउनलाई प्रभावकारी बनाउनु अहिलेको लागि उत्तम विकल्प हो ।

खुला सीमाका कारण भारतबाट कोरोना भाइरस संक्रमणको लक्षणसहित आएका व्यक्तिसँगै अन्यको पनि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य चुनौतिपूर्ण छ । ‘छिमेकी मुलुकमा दिनहँु संक्रमितको संख्या बढिरहेको अवस्थामा लकडाउनमा कडाई गर्नुपर्छ । मुलुकभित्र पनि संक्रमित देखा परेको ठाउँबाट र विदेशबाट आएका व्यक्तिको घुमफिर शुन्य बनाउनु पर्छ’, उनले भने ।

संक्रमितको स्वास्थ्य सामान्य

संक्रमितमध्ये दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत् छन् ।यसैगरी उपत्यकाबाहिर बाग्लुङस्थित अस्पतालमा दुईजना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चार जना उपचाररत् छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितमध्ये चीनबाट फर्केका एक जना उपचारपछि निको भइसकेका छन् ।

संक्रमितको संख्या बढेपछि मन्त्रालयले परीक्षणको दायरा बढाएको छ । हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार चार सय ४१ वटा परीक्षण भएको छ । उपत्यकाबाहिर जनकपुर, धरान, हेटौंडा, पोखरा, धनगढी र सुर्खेतमा जाँच भइरहेको छ । चितवन र बुटवलमा आइतबारदेखि परीक्षण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here