विराटनगर/ विराटनगरमा कोरोना भाइरस उपचारका लागि अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकारले विराटनगर–१० मा रहेको नेसनल ट्रेडिङको भवनमा कोसी अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
आईसीयू र भेन्टिलेटरका दससहित ५० शøयाको अस्पताल शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन गर्नुभयो । निर्माणसहित आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्री तथा मापदण्डको विषयमा विशेषज्ञ चिकित्सकसँगको परामर्शपछि अस्पतालबाट सेवा सुचारु भएको हो ।
पूर्ण अस्पतालको संरचनासहित आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरिएसँगै अब कोडिभ–१९ का बिरामीको उपचारका लागि समस्या नहुने मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो ।
प्रदेश सरकारले निर्माण गरेको अस्पतालको हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको छ । वार्डलाई कन्ट्रोल रुमबाट निगरानी गरिने सुविधासँगै बिरामीको मोबाइलमा स्वास्थ्य सूचना पठाउन सकिने सुविधाको प्रबन्धसमेत गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
सङ्क्रमित बिरामीलाई मात्रै उपचारात्मक सेवा दिने उद्देश्यसहित निर्माण गरिएको अस्पतालको बाहिरी परिसरमा सुरक्षा पोस्ट, हेल्थ डेस्क, सामान आदानप्रदान कक्ष, कार्यालय र स्वास्थ्यकर्मी चेमनागृह रहेको छ । बिरामीका लागि अस्पतालभित्रै चमेनागृह निर्माण गरिएको छ ।
मुख्यमन्त्री राईको संयोजकत्वमा रहेको प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिले गत चैत ७ गते कोभिड–१९ उपचार केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।










