२०७८ असार ९ कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नं. ८ पुर्व डिह बेलौहवा स्थित आठ नंवरी गड्डा (सरकारी जग्गा) स्थित सोमबार पोखरी भित्रमा एक शव फेला परेको थियो ।
उक्त शव १८ बर्षिय बिजय बहादुर कुर्मीको रहेको र कपिलवस्तु प्रहरीले मृत अवस्थामा फेला परेको शव सम्बन्धमा तत्कालै प्राविधीक सहित आवश्यक अध्ययन गरी उक्त घटना सम्बन्धी अनुसन्धान थालेको थियो ।
अनुसन्धान गर्दै जाँदा मृतक बिजय बहादुर कुर्मीको स्वभाविक मृत्यु नभएको खुल्न आएको थियो ।अनुसन्धानको क्रममा असार ३ गते अनिल काहार छिमेकीको विवाहमा गएको बखत असार ४ गते बिहान करिब १/२ बजेको समयमा अनिल काहार बिवाहबाट फर्केर आएका थिए । उनी घरमा आऊँदा बिजय बहादुर कुर्मीलाई आफ्नो घरमा देखेपछी अनिल काहार, रमेश काहार र बास्मती काहार समेतको मिलेमतोमा बिजयलाई कुटपिट गरी मारीसकेपछी त्यहाँबाट लाशलाई उठाएर पोखरीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतक बिजय बहादुर कुर्मीले घाँटीमा लगाएको माला (मोटो धागोको मालाले) कसेर, कुटपिट गरेर कर्तव्य गरी मारेपश्चात लाश दवाउनका लागी पोखरीमा फालेको भनि प्रारम्भिक अनुसन्धानको दुई दिनमै खुल्न आएको प्रहरीले जनाएको छ ।
उक्त अनुसन्धान पश्चात घटनाका प्रतिवादीहरू रमेश काहार, अनिल काहार र बास्मती काहारलाई तत्काल आवश्यक अनुसन्धानको लागी पक्राउ गरी सम्मानित कपिलवस्तु अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ताले धर्मराज भण्डारीले जानकारी दिए।










