नेपालगन्ज , हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दसैं अन्तर्गत आज नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं रुप महागौरीको पूजा आराधना गरिन्छ ।
महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरै रहेको छ ।
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेका अनेक दोषहरू हट्ने र पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।
शक्तिपीठहरूमा पशु बली दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन रहेको छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने स्थानीय आराधना गुप्ताले बताउछिन् ।
आजकै दिन घरघरमा प्रयोग गरिएका हातहतियार, मेशिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलनसमेत रहेको छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी बगेश्वोरी मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ । तर यस बर्ष भने कोरोना संक्रमणको जोखिम निर्मूल नभैसकेकाले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न सरकारले आह्वान गरेको छ ।